सुर्खेत । कर्णाली प्रदेश सरकार ले प्रदेशमा स्याउ खेतीको संरक्षण, उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउन ‘प्रदेश स्याउ विकास बोर्ड’ स्थापना गर्ने तयारी थालेको छ । बोर्ड गठनसम्बन्धी विधेयकलाई किसानमैत्री बनाउने उद्देश्यसहित प्रदेशसभा सदस्यहरूसँग छलफल तथा सुझाव सङ्कलन सुरु गरिएको छ ।


भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाह का अनुसार “कर्णाली प्रदेश स्याउ विकास बोर्ड स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि राय सुझाव सङ्कलन भइरहेको छ । उनले किसानको जनजीविका र कृषि उत्पादनलाई केन्द्रमा राखेर विधेयकलाई प्रभावकारी बनाइने बताए ।
प्रदेश सरकारले डोल्पा, हुम्ला, मुगु, जुम्ला र कालिकोटका प्रदेशसभा सदस्यहरूसँग छलफल गरिसकेको जनाएको छ । स्याउ उत्पादन हुने जिल्लामा सडक अभाव, ढुवानी समस्या र प्राकृतिक कारणले बर्सेनि किसानले ठूलो क्षति बेहोर्नुपरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि बोर्ड गठन आवश्यक रहेको मन्त्री शाहको भनाइ छ ।
प्रदेश सरकारले स्याउ उत्पादन हुने क्षेत्रको स्थलगत अध्ययनसमेत सम्पन्न गरिसकेको छ । बोर्ड गठन भएपछि स्याउ खेतीको उत्पादन वृद्धि, भण्डारण, प्रशोधन तथा बजार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।













प्रतिकृया दिनुहोस्