काठमाडौँ । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन शाह ले वर्तमान सरकार निर्धारित लक्ष्य पूरा नभएसम्म नरोकिने बताएका छन्। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्र ब्रेक लाग्ने बताएका हुन्।
कतिपय राजनीतिक दलहरूले सरकारको गतिलाई लिएर व्यक्त गरेका टिप्पणीप्रति संकेत गर्दै प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकार तीव्र गतिमा विकास र सुशासनका काम अघि बढाइरहेको बताए। उनले जनताले दिएको जनादेशलाई स्वीकार गर्न आग्रह गर्दै रास्वपाको वैचारिक धरातलप्रति अनावश्यक चिन्ता नगर्न आग्रह गरे।
“रास्वपा विकास र परिणाममुखी काममा विश्वास गर्ने पार्टी हो,” उनले भने, “हामी प्रतिशोधको राजनीति गर्दैनौँ, पुराना विषयलाई लिएर निहुँ खोज्ने पक्षमा पनि छैनौँ। हाम्रो ध्यान जनताको अपेक्षा पूरा गर्नेतर्फ केन्द्रित छ।”
प्रधानमन्त्री शाहले सरकारी सम्पत्ति र सार्वजनिक स्रोतको दुरुपयोग गर्नेहरूप्रति सरकार कठोर बन्ने चेतावनी दिए। कानुनको दायराभित्र रहेर भ्रष्टाचार र अनियमितताविरुद्ध कडा कदम चालिने उनको भनाइ थियो।
राष्ट्रियताको विषयमा बोल्दै उनले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अभिन्न भूभाग भएको दोहोर्याए। ती क्षेत्र नेपालकै भएको प्रमाण सरकारसँग रहेको उल्लेख गर्दै सीमासम्बन्धी विषय छिमेकी मुलुकसँग संवादमार्फत समाधान गरिने बताए।
महाधिवेशनमा सहभागी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै शाहले पार्टीभित्र गुट–उपगुटको राजनीति नगर्न आग्रह गरे। पुराना राजनीतिक दलहरूमा देखिएको विभाजनकारी संस्कृतिबाट शिक्षा लिनुपर्ने उल्लेख गर्दै उनले जनताको विश्वास जितेर नेतृत्व स्थापित गर्नुपर्ने धारणा राखे।
उनले रास्वपा नयाँ सोच र नयाँ कार्यशैलीसहित अघि बढेको बताउँदै सुकुम्बासी समस्या तथा सहकारी ठगी पीडितहरूको मुद्दा यही कार्यकालमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी निर्वाचनमा पुराना समस्या बोकेर नभई नयाँ उपलब्धि र नयाँ एजेन्डासहित जनतामाझ जाने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले वर्तमान सरकारलाई जनताको सरकारको संज्ञा दिँदै मन्त्री, सांसद, पदाधिकारी, कार्यकर्ता र आम नागरिक सबै परिवर्तनका साझेदार भएको बताए। पार्टीलाई एकताबद्ध राख्दै देश निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले महाधिवेशनलाई रास्वपाको भविष्य तय गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे।















प्रतिकृया दिनुहोस्