चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राजनीतिक दलहरूले जनमतको सम्मान गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले इतिहासमा राजनीतिक दलहरूले प्राप्त गरेको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्तामोहका कारण पटक–पटक संकटमा परेको उल्लेख गरे। उनले रास्वपालाई पनि यस्ता चुनौतीबाट जोगिँदै जनसमर्थनलाई देशको स्थायित्व र विकासका लागि उपयोग गर्न सुझाव दिए।
थापाले कांग्रेस र रास्वपाबीचको सम्बन्ध प्रतिस्पर्धाको भए पनि वैमनस्यताको नभएको स्पष्ट पारे। “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन,” उनले भने, “संसदमा हामी प्रतिपक्षमा छौँ। जहाँ प्रश्न उठाउनुपर्ने हुन्छ त्यहाँ प्रश्न उठाउँछौँ, जहाँ समर्थन गर्नुपर्ने हुन्छ त्यहाँ समर्थन पनि गर्छौँ।”
पछिल्लो समय राजनीतिमा विगतका उपलब्धि र संघर्षलाई पूर्ण रूपमा अस्वीकार गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै उनले त्यसप्रति असन्तुष्टि व्यक्त गरे। प्रजातन्त्र स्थापना र संरक्षणका लागि भएका ऐतिहासिक आन्दोलन तथा बलिदानलाई बिर्सन नहुने उनको भनाइ थियो।
“आज चितवनमा निलो झण्डा फहराइरहँदा विगत ३५ वर्षमा केही पनि भएन भन्न मिल्दैन,” उनले भने, “तपाईंहरू उभिएको राजनीतिक धरातल सहिदहरूको रगत, त्याग र बलिदानबाट बनेको हो। त्यो इतिहासलाई इन्कार गर्न सकिँदैन।”
सभापति थापाले देशका मुख्य चुनौती गरिबी, अज्ञानता, विभेद र अक्षमता भएको उल्लेख गर्दै यिनै समस्याविरुद्ध सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने बताए। संविधान, लोकतन्त्र र वर्तमान व्यवस्थाको रक्षाका लागि आवश्यक परे कांग्रेस र रास्वपाबीच सहकार्य हुन सक्ने संकेत पनि उनले दिए।
उनले छोटो अवधिमै रास्वपाले प्राप्त गरेको जनसमर्थनलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गर्दै पार्टीको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गरे।















प्रतिकृया दिनुहोस्